भारतीय भन्सारमा रोकिएका १४० वटा पेट्रोलियम ट्याङ्कर नेपाल भित्रिए, एक्सरे मेसिन अलपत्र

भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै रुपैडिहामा रोकेका पेट्रोलियम पदार्थ बोकेका १४० ट्याङ्कर नेपाल भित्रिएका छन्। अनलाइनमा समस्या आएपछि ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनसम्म सीमामै रोकिएका थिए।

नेपालगन्ज भन्सार कार्यालयका अधिकृत शरदकुमार केसीका अनुसार पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भारतीय भन्सारमा अनलाइन सेवा सञ्चालन भएपछि बिहीबार राति नेपाल भित्रिएको बताए। भारतले भन्सारमा अनलाइन प्रविधि लागू गरेपछि विभिन्न समयमा नाकामा समस्या हुँदै आएको उनले बताए।

भारतको बहराइच नजिकै अप्टिकल फाइबरमा समस्या आएर अनलाइन दर्ता नभएपछि ट्याङ्करसँगै अन्य मालबाहक ट्रकहरु रुपैडिहामै रोकिएका थिए। १० लाख रुपैयाँभन्दा बढी ‘इनभ्वाइस’को सामानलाई भन्सार ‘क्लियर’ गराउन भारतीय भन्सारका डेपुटी कमिस्नरको अनुमति लिनुपर्छ।

गए राति मात्रै इन्धन आयात नभएको भए नेपालगञ्ज आसपासको क्षेत्रमा इन्धन अभाव हुनसक्ने देखिएको थियो। नेपाल आयल निगम इन्धन डिपो नेपालगञ्जका प्रमुख अभिषेककुमार ठाकुरले सबै ट्याङ्कर नेपाल भित्रिएकाले इन्धन अभाव नहुने बताए।

यो क्षेत्रमा निगमले डिजेल र पेट्रोल गोन्डाबाट, एटीएफ इलहावाद र एलपी ग्यास मथुराबाट आयात गर्दै आएको छ। डिपो प्रमुख ठाकुरका अनुसार निगमको डिपोमा एक हप्तालाई पुग्ने डिजेल र तीन दिनलाई पुग्ने गरी पेट्रोल भण्डारण क्षमता छ।

सीमामा एक्सरे मेसिन अलपत्र 
भन्सार कार्यालयमा सीमाक्षेत्रमा निगरानी राख्न सहयोगी हुने दुई एक्सरे मेसिन एक वर्षदेखि गोदामै थन्किएका छन्। नेपाल प्रवेश गर्ने विन्दुमा सर्वसाधारण आवातजावत गर्दा ल्याउने÷लैजाने हरेक सामानको जाँच गर्ने मेसिन प्रयोगविहीन भएका हुन्।

एउटा वाकथ्रु गेट छ भने अर्को लगेज जाँच्ने मेसिन छ। दुवै मेसिन रु एक करोड बढी मूल्यको रहेको भन्सार कर्मचारीले बताएका छन्। ती मेसिन एक वर्षअघि नेपालगञ्ज ल्याइएका थिए । यस्तै प्रकारको मेसिन विराटनगर पनि पठाइएको र त्यहाँ पनि प्रयोग नभएको कर्मचारीको भनाइ छ।  (source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *