वाइवाइ ब्राण्डका चौधरीले सम्पत्ति बढाए, भारतका अनिल अम्बानीकै जति सम्पत्ति

नेपालका उद्योगी बिनोद चौधरी र भारतीय उद्योगी अनिल अम्बानी फोर्ब्सको अर्बपति सूचीमा समान स्थानमा छन्।  चौधरी र अम्बानी दुबै सूचीमा १३ सय ४९ औं स्थानमा छन्।  दुबैको सम्पत्ति १.७ अर्ब डलर देखिएको छ। 

विनोद चौधरीको सम्पत्तिमा बृद्धि समेत भएको छ।  उनीसँग १.७ अर्ब डलर सम्पत्ति छ। गत वर्ष उनी १.५ अर्ब डलर सहित बिलेनियर क्लबमा थिए। गत वर्षको तुलनामा उनको सम्पत्ति २० करोड डलरले बढेको देखिन्छ। सम्पत्ति बढेसँगै उनी पोहोरभन्दा सूचीमा माथिल्लो स्थानमा उक्लिएका हुन्।

सन् २०१८ मा फोर्ब्सको सूचीमा १५ सय ६३ औं सूचीमा रहेका चौधरी एक वर्षमै १३ सय ४९ स्थानमा उक्लन सफल भएको फोर्ब्सले जनाएको छ।

नेपालका एक्ला अर्बपतिका रुपमा फोर्ब्सले ६३ वर्षका बिनोदलाई राखेको छ। सिजी कर्प ग्लोबल तथा नबिल बैंकको शेयरमा ठूलो हिस्सा होल्ड गरेका चौधरीको विद्युतीय उपकरण, खाद्य सामाग्री, बियर उत्पादन तथा होटलहरुमा रहेको लगानीले सम्पत्ति बढाउन मद्दत गरेको फोर्ब्सले जनाएको छ।

चौधरीको सिजी फुड्स अन्तर्गतको वाइवाइ नुडल्सले भारत, सर्बिया, साउदी अरेबिया तथा बंगलादेशबाट उत्पादन गरिरहेको पनि फोर्ब्समा उल्लेख छ। 

सिजीको  विश्वका धेरै स्थानमा २९ वटा होटल तथा ७० वटा होटलको ब्यवस्थापन गरिरहेको छ जसअन्तर्गत भारतको ताज होटल चेन समेत रहेको फोर्ब्समा उल्लेख छ। 

यसैगरी  एशियाकै धनी मुकेश अम्बानीका भाई अनिल अम्बानीको सम्पत्ति  १.७ अर्ब डलर छ।  रिलायन्स अन्तर्गत बिभिन्न सेक्टरमा लगानी गरेका अनिल अम्बानी भारतका ६८ औं धनी ब्यक्ति हुन्।  तर रिलायन्स कम्युनिकेसन्सका कारण हाल भने उनी समस्यामा रहेका छन्। 

कम्पनीमा देखापरेको समस्याको कारण नै उनको  सम्पत्ति घटेको देखिएको छ। गत वर्ष  २.७ अर्ब डलर रहेको अनिलको सम्पत्ति खुम्चिएर नेपालका एकमात्र अर्बपति बिनोद चौधरीकै हाराहारीमा आएको हो। 


उनको फाइनान्सियल सर्भिस, डिफेन्स, इन्फ्रास्ट्रक्चर तथा मिडियामा लगानी रहेको छ। रिलायन्स डिफेन्सले इजरायलको राफाल तथा फ्रान्सको डासोल्ट एभिएसनसँग जोइन्ट भेन्चरमा ब्यापार संचालन गरिरहेको छ।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *