मिनी क्यासिनो खोल्न पाइने भएपछि चारतारे होटल खुल्न हानथाप

पालमा करिब २८ वर्षपछि चारतारे होटलमा लगानीको ओइरो लागेको छ । नेपालमा चार तारे स्तरको होटलको संख्या बर्षौदेखि दुईवटा मात्रै रहेको थियो ।

यतिबेला ८ वटा पुगेको छ । ललितपुरको हिमालय र लाजिम्पाटको शंकर होटललाई मात्रै चारतारे स्तरको भनेर ब्रान्डिङ गरिएको भए पनि अब भने व्यवसायिक वातावरण बनेको, नेपालमा पर्यटकीय गतिविधिसँगै स्तरीय होटल बन्ने क्रममा दुई वर्षमा ६ वटा होटलले चारतारेको स्तर निर्धारण गरेको पर्यटन विभागअन्तर्गतको होटल शाखाले जानकारी दिएको छ ।

विभागका अनुसार वर्षौदेखि होटलमा लगानी नआउँदा र नयाँ ब्रान्ड नहुँदा दुईवटा मात्रै चारतारे भन्ने गरिएको थियो । अहिले भने अब उपत्यकामा मात्रै चारतारे दुईवटा भन्ने भएको छ । उपत्यका बाहिर ६ वटा थप भएका छन् । विभागका अनुसार थप भएका यस्ता चारतारे होटलमा महेन्द्रनगरको होटल ओपेरा, सिमराको इच्छा, नगरकोटको मिस्टिक माउन्टेन, नेपालगन्जको कृष्णा, नेपालगन्जकै सिद्धार्थ होटल भ्यू र पोखराको होटल सरोवर प्रालि रहेको छ ।

नयाँ थप भएको चारतारे होटलपछि काठमाडौंभित्र सीमित यस्ता ब्रान्ड अब राजधानीबाहिर पनि पुगेका छन् । पर्यटन विभागका अनुसार नेपालगन्जकै सोल्टी सिब्क्रिम र कोहलपुरको सेन्ट्र«ल प्लाजा होटल पनि चारतारेस्तरको रहे पनि यी दुई होटल भने स्तरोन्नती भएर पाँचतारे हुने भएका छन् । यी दुई होटलको स्तर तथा न्यूनतम मापदण्ड पुगेकाले पाँचतारे हुने पनि पर्यटन विभागले जानकारी दिएको छ ।

विभागमा दर्ता प्रक्रियामा नआएका र आउने क्रममा रहेका थप होटल पनि धेरैजसो चारतारेको स्वकिृति नै माग्न आउने गरेका छन् । विभागले गर्ने स्थलगत निरीक्षणपछि स्तर निर्धारण हुने भएकाले पछि घट्ने गरेको छ । यसअघि ठमेलमा निर्माण भएको मलवरी र मेरियट काठमाडौंले चारतारेको अनुमति मागेको थिए । यी दुवै होटलको स्थलगत निरीक्षणपछि तीन तारे स्तरको मात्रै भएको हो ।

पहिल्यै चारतारे भनेर निर्माण गरिए पनि स्तर वर्गीकरणपश्चात उक्त होटल तीनतारे हुने भएकाले पनि घोषणा गरेका र निर्माणाधीन सबै होटल पहिले नै यो स्तरको भन्ने हुँदैन । मापदण्ड नपुगेका होटलको स्तर घट्न पनि सक्ने विभागको भनाइ छ ।

पछिल्लो करिब तीन दशकसम्म एउटा पनि चारतारे होटल नथपिए पनि हाल थपिएका र निर्माणको क्रममा रहेकासहित दर्जनभन्दा बढी चारतारे होटल आउने तयारीमा रहेको होटल संघ नेपालको भनाइ छ । होटल संघका अनुसार चारतारे निर्माणको क्रम बढेको छ ।

केही होटल पाँचतारे भनेर निर्माण गर्ने र केही तीन तारे भनेर निर्माण गर्ने होटलको स्तर निर्धारण गर्दा चारतारे हुने पनि गरेको छ । चारतारे स्तर वो सोभन्दा माथिको होटलमा क्यासिनो तथा मिनी क्यासिनो र इलेक्ट्रोनिक गेमिङ सञ्चालन गर्न पाइने भएकाले पनि यस्ता होटलको माग बढेको हो ।

होटलभन्दा क्यासिनोको कमाइ राम्रो हुने भएकाले पनि क्यासिनोसहितको स्तरीय होटल खोल्न व्यवसायी उत्साहित भएका हुन् । हाल पर्यटन विभागका दर्ता भएका चारतारे स्तरका होटल ८ वटा, पाँचतारे ११ वटा छन् । दुई तारे ४३ वटा, एक तारे ३३ वटा र पर्यटक स्तरका होटलको संख्या ५१० वटा रहेको छ । नेपालमा योभन्दा बढीको होटल सञ्चालमा रहेको भए पनि दर्ता र नवीकरण गर्नुपर्ने व्यवस्थामा कडाइ गर्न नसक्दा कान्नी दायरा बाहिरै रहेका छन् ।(source)

Leave a Reply

Your email address will not be published. Required fields are marked *