नेप्सेले किन गर्यो ३ वाणिज्य बैंक सहित ५ बैंकको शेयर कारोबार रोक्ने निर्णय ?

नेपाल स्टक एक्सचेञ्जले ३ वाणिज्य बैंक तथा २ वटा विकास बैंकको शेयर कारोबार रोक्का गर्ने निर्णय गरेको छ । नेप्सेले सनराइज बैंक, हिमालयन बैंक, मेगा बैंक, मिसन डेभलपमेण्ट बैंक तथा शाइन रेसुगां डेभलपमेण्ट बैंकको शेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।

सूचीकरण नियमावली तथा नेप्सेको परिपत्र विपरितका कामहरु गरेको भन्दै नेप्सेले बैंकहरुको शेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो । नेप्सेका अनुसार सूचीकृत कम्पनीले बुझाउनु पर्ने सूचनाहरु सार्वजनिक नगरेको तथा कार्यतालिका अनुसार संस्था नचलेको भन्दै शेयर कारोबारमा रोक लगाइएको हो ।

नेप्सेको सूचीकरण शाखाले केही समय अघि सूचीकृत कम्पनीहरुलाई सूचना प्रवाह गर्ने लगायत विषयमा परिपत्र जारी गरेको थियो । उल्लेखित ५ संस्थाले उक्त परिपत्रको पालना नगरेको नेप्सेको ठहर छ ।

धितोपत्र सूचिकरण विनियमावली २०७५ को दफा २२ को उपदफा १ को खण्ड ‘ङ’मा गरिएको व्यवस्था अनुसार निर्णयका सूचनाहरु संचालक समितिको बैठकको समय समेत उल्लेख गरी तोकिएको समयमा नेप्सेमार्फत सार्वजनिक गर्नु पर्ने हुन्छ । उक्त व्यवस्था विपरित सूचनाहरु उपलब्ध गराएको भन्दै नेप्सेले सुध्रिन दवाब दिन यस्तो निर्णय गरेको हो ।

यसका साथै नेप्सेमा सूचीकरण हुँदा गरिएको सम्झौता पनि उल्लेखित संस्थाले पालना नगरेको निष्कर्ष नेप्सेले निकालेको छ ।

बैंकहरुको कृयाकलापका बारेमा शेयरधनीहरुलाई जानकारी दिनका लागि शेयर कारोबार रोक्का गराइएको आँकलन गरिएको छ । यसबाट लगानीकर्ताले कम्पनीहरुको कृयाकलापका बारेमा जानकारी पाएर सजग हुन मद्धत पुर्याउने छ भने संस्थालाई प्रकृयागत विषयमा चुस्त रुपमा काम गर्न नैतिक दवाब समेत दिनेछ ।

नेप्सेले यस सम्बन्धमा कम्पनीहरुसँग प्रष्टीकरण सोधेर जवाफ पाए पछि सोमबारदेखि शेयर कारोबार सुचारु गराउने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *