शेयर बजारमा कार्यदलको प्रभाव: १९ अंकले उक्लियो सूचक, माग पुरा हुनेमा आशावादी लगानीकर्ता

अर्थमन्त्री डा. युवराज खतिवडाले गठन गरेको कार्यदलले आन्दोलनकारी शेयर लगानीकर्ताहरुको पनि माग संवोधन गर्ने भएपछि शेयर बजार हरियो भएको छ।

नयाँ महिनाको पहिलो दिन बजार १८.८९ अंकले बढेर बन्द भएको छ। निरन्तर घट्दो बजारका संबन्धमा लगानीकर्ताहरुको माग संवोधन हुने भएपछि सूचक उक्लिएको हो। ‘लगानीकर्ताले उठाएका माग सम्बोधन हुने समाचारहरु सार्बजनिक भइरहेका कारण बजार बढेको हो’ इन्भेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले भने।

 

गत साता पूँजी बजारको सुधारकालागि अध्ययन समिति बनेसँगै बजारमा सुधार देखिन थालेको हो। अध्ययन समितिले बजारलाई सुधार गर्न ब्याजदर र पूँजी बजारको बिकासका लागि तत्काल सरकारले चाल्नु पर्ने कदमको विषयलाई समेटेर सुझाब दिने छ। यो सुझाबलाई सरकारले कार्यान्वयन गर्ने छ।

नागरिक लगानी कोषले स्टक डिलरको काम गर्नेदेखि ब्रोकरमार्फत तत्कालै १० अर्ब रुपैयाँ मार्जिन लेण्डिङ उपलब्ध हुने समाचारहरु सार्बजनिक भइरहेका छन्।

आइतबार १५९ कम्पनीका १४ लाख कित्ता शेयर किनबेच भएको छ। दिनभरीमा ४७ करोड रुपैयाँको कारोबार भएको छ। गत बिहीबार ३२ करोड ३७ लाख रुपैयाँमा कारोबार भएको थियो।

सबैभन्दा बढी छिमेक लघुबित्त वित्तीय संस्थाको पाँच करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बजार खुलेदेखि नै सुचक हरियो देखिएको थियो।

११४९ अंकबाट सुरु भएको बजार पौने दुई घण्टमा ११६८ अंकसम्म उक्लिएको थियो। १९ अंक उक्लिएको बजार दुई बजेपछि पछाडि फर्किएको थियो। लगानीकर्ताको खरिद चाप बढ्दा सूचक १८ अंकको वृद्धि कायम गर्दै बन्द भएको छ। (source)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *